६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बाह्रदशी गाउँपालिकामा गर्भवतीका लागि स्वास्थ्य परीक्षण



झापा– रोटरी क्लब अफ बिर्तामोड मिड-टाउनले झापाको बाह्रदशी गाउँपालिकामा गर्भवती महिलाहरूका लागि स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण सेवा तथा पौष्टिक आहार वितरण गरिएको थियो ।

बाह्रदशी–४ स्थित चकचकी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा २५ जना गर्भवती महिलाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण (ओपिडी) सेवा पाएका छन् भने ५० जनालाई पौष्टिक आहार वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयोजकलाई धन्यवाद दिए । बाह्रदशी–४ का वडाध्यक्ष महताव आलमले यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा क्लबकी अध्यक्ष पुष्पाञ्जलि सिन्हा ठाकुरीले गर्भावस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएकी थिइन् भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का कटुवालले स्वास्थ्य परामर्श दिएकी थिइन् ।

डा. कटुवालले शिविरमा परीक्षण गरिएकामध्ये शल्यक्रिया आवश्यक परेकी एक महिलाको निःशुल्क उपचार गरिदिने घोषणा समेत गरिन् ।

रोटरी क्लबको आयोजनामा, रोट्र्याक्ट क्लब र वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार ००:००  ११ : ०६ बजे