२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

अडियो काण्डले मन्त्री पद चैट : प्रधानमन्त्रीको अल्टिमेटमपछि गुप्ताले दिए राजीनामा



काठमाडौँ-घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पदमुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको २४ घण्टे अल्टिमेटमको समयसीमा नसकिँदै उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

गुप्ताले आफ्नो राजीनामा पत्रमा आफूलाई “नखाएको विष लागेको” र “उच्चतम प्रविधिको सिकार भएको” भन्दै निर्दोष देखाउने प्रयास गरेका छन् । उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानमा सघाउन पद त्यागेको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार, अडियो प्रकरणले सरकारको छविमा धक्का पुगेपछि प्रधानमन्त्री ओलीले सोमबार बिहान गुप्तालाई बालुवाटार बोलाएर राजीनामा दिन स्पष्ट निर्देशन दिएका थिए ।

सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति र पोखराको जग्गा मामिलामा आर्थिक लेनदेनको कुरा गरेको सुनिन्छ ।

यसबाहेक, उनले आकर्षक मानिने मालपोत कार्यालयका प्रमुखहरूलाई फोन गरेर “सहयोग” माग्ने र नदिए सरुवा गरिदिने धम्की दिने गरेको आरोप समेत लागेको छ ।

यो प्रकरण सार्वजनिक भएपछि विपक्षी दलहरूले उनको तत्काल राजीनामा र कारबाहीको माग गर्दै सदन र सडकमा आवाज उठाएका थिए ।

संयोग नै मान्नुपर्छ, नेकपा एमालेको तर्फबाट पर्सा-३ बाट निर्वाचित गुप्ताले मन्त्रीको पदभार सम्हालेको ठीक एक वर्ष पुगेकै दिन पदबाट बाहिरिनु परेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार ००:००  १२ : ०२ बजे