६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बुद्धशान्तिका १९५ भूमिहीन परिवारलाई जग्गाधनी पूर्जा वितरण



बुद्धशान्ति– झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का १९५ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

सोमबार वडा कार्यालय नजिकै आयोजित एक विशेष समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले पूर्जा वितरण कार्यको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सकारात्मक कामहरू पनि भइरहेको बताउनु भयो । उहाँले विगतमा आफूहरूकै पहलमा सरकारले धनीपूर्जामा लाग्ने राजस्व घटाएको स्मरण गर्दै जनतालाई सहज रूपमा सेवा दिनु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भूमिहीनहरूलाई धनीपूर्जा दिलाउन पाउँदा खुसी लागेको बताउँदै मागअनुसार सबैलाई पुर्जा उपलब्ध गराउन अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्नुभयो ।

त्यसैगरी, उपाध्यक्ष भवानीप्रसाद खतिवडाले पूर्जा वितरण गरेर मात्र राज्यको दायित्व पूरा नहुनेमा जोड दिनुभयो । उहाँले उक्त पूर्जाको आधारमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वा अन्य कारोबार गर्ने प्रक्रियालाई थप सरल र सहज बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

वडा नं. ४ का अध्यक्ष शेरबहादुर रायले लामो समयको प्रतीक्षापछि जग्गाको मालिक बन्न पाउँदा वडाबासी हर्षित भएको बताउनु भयो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार ००:००  ७ : ४४ बजे