विराटनगर-सुनसरीको भारतसँग सिमाना जोडिएको हरिनगर गाउँपालिकामा आइतबार मध्यरातमा एक किशोरीको गोली हानी हत्या गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा आफ्नै भिनाजुले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, हरिनगर गाउँपालिका-६, घुस्कीकी १८ वर्षीया अर्सी खातुनको हत्या भएको हो ।
उनलाई भारतको पत्राहा पञ्चायत-१६, घुर्ना निवासी २९ वर्षीय भिनाजु आजात मिया जटले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुमनकुमार तिम्सिनाले राति करिब १ बजेतिर मियाले खातुनको टाउकोमा गोली हानेको जानकारी दिए ।
गोली लागेर खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।घटनापछि प्रहरी टोलीले घटनास्थलबाट गोलीको एउटा खोका बरामद गरेको छ ।
एसपी तिम्सिनाले भने, ‘घटनाको कारणबारे अनुसन्धान भइरहेको छ, अहिलेसम्म केही खुलेको छैन ।’ हत्यालगत्तै अभियुक्त मिया फरार भएका छन् ।
घटनास्थल भारतीय सीमा नजिकै भएकाले उनी भारततर्फ भागेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।














