६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बडिबिल्डिङ प्रशिक्षक तथा पूर्व खेलाडी राम दाहाल सम्मानित



बिर्तामोड-शारीरिक सुगठन (बडिबिल्डिङ) को विकासमा लामो समयदेखि अनवरत योगदान पुर्याउँदै आउनु भएका झापा, बिर्तामोडका प्रतिष्ठित प्रशिक्षक तथा पूर्व खेलाडी राम दाहाल सम्मानित हुनु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार आयोजित एक विशेष समारोहमा उहाँको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । उहाँलाई नगद ९ हजार ९ सय ९९ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरी उहाँको योगदानको प्रशंसा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले संयुक्त रूपमा दाहाललाई सम्मान गर्नुभयो ।

किन भए दाहाल सम्मानित ?

प्रशिक्षक दाहालले शारीरिक सुगठन खेलमा दशकौंदेखि आफूलाई समर्पित गर्दै आउनु भएको छ । सम्मानपत्रमा उहाँले खेलाडी उत्पादन, स्तरीय प्रशिक्षण प्रदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक उचाइमा पुर्‍याउन खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरिएको छ । उहाँ हाल बिर्तामोडमा ‘बडी ग्यारेज’ नामक जिम सञ्चालन गर्दै नयाँ पुस्तालाई प्रशिक्षित गरिरहनुभएको छ ।

खेल क्षेत्रकै सम्मान

कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रदेशका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरेको हो । दाहालको यो सम्मानले झापाको खेलकुद क्षेत्रमा खुसीयाली छाएको छ भने नयाँ पुस्ताका खेलाडीहरूलाई थप हौसला मिलेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार ००:००  १ : २० बजे