२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

बहुप्रतिक्षित चन्द्रमार्गमा कालोपत्रे सुरु : मेयरको नेतृत्वमा अनुगमन



बिर्तामोड– बिर्तामोड नगरपालिकाको शहीद चन्द्र मार्गले अन्ततः नयाँ मुहार पाएको छ । वर्षौंदेखि धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको सपना अब साकार हुँदैछ ।

सडक डिभिजन कार्यालय, दमकमार्फत सञ्चालित करिब ५ करोड ५९ लाख को लागतमा महत्वपूर्ण सडकको कालोपत्रे तथा नाला निर्माण कार्य तीव्र गतिमा अघि बढेको हाे ।

बिर्तामोड नगरपालिकाको वडा नं. ३ र ९ लाई जोड्ने यो मार्गको स्तरोन्नति एक बहुप्रतिक्षित योजना थियो । मूल्य अभिवृद्धि कर र अन्य प्रावधानसहित ५ करोड ५९ लाख ४६ हजार २०८.३९ को लागतमा यो योजना सञ्चालनमा आएको हो ।

यस योजनाको निर्माण जिम्मेवारी सिद्धिथुम्का–एभरग्रीन जेभी, बिर्तामोड–४, झापाले पाएको छ । सम्झौता अनुसार, निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने र दुवैतर्फ व्यवस्थित नाला निर्माण गरी पानीको निकासलाई सहज बनाउनेछ। निर्माण कार्य २०८२ साल वैशाख ११ गते निर्माण सम्झौता भएको थियो ।

गुणस्तरीय निर्माणमा प्रतिबद्धता : जनप्रतिनिधि

निर्माण कार्यको अनुगमन गर्दै नगर प्रमुख पवित्रा महताराले यस मार्गको ऐतिहासिक र रणनीतिक महत्वबारे प्रकाश पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘लामो समयदेखिको जनचासो र आवश्यकतालाई सम्बोधन गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको छ। नागरिकहरूले केही समय धैर्य गर्नुपर्ला तर यसको परिणाम दीर्घकालीन र सुखद हुने विश्वास लिएको छु ।’

त्यसैगरी, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले वडावासीको वर्षौंदेखिको माग पूरा हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वडावासीले वर्षौँदेखि राम्रो बाटोको माग गर्दै आएका थिए । अब यो माग पूरा हुँदैछ । निर्माण गुणस्तरीय हुनेछ भन्ने कुरामा हामी प्रतिबद्ध छौँ र निरन्तर अनुगमन गरिरहनेछौं ।’

अनुगमनमा वडा सदस्य हरि बाँस्कोटा तथा समाजसेवीहरू अम्बिर लिङ्देन, राजेन्द्र लिङ्देन, सुवास भट्टराई, कोसिस घिमिरे, दिनेश अधिकारी र प्रेम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सडक कालोपत्रे हुन थालेपछि स्थानीय बासिन्दा र व्यवसायीहरू उत्साहित भएका छन् । हिउँदमा धुलो र बर्खामा हिलोको सास्तीबाट मुक्ति मिल्ने भएपछि दैनिक जीवनयापन सहज हुने उनीहरूको अपेक्षा छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार ००:००  ७ : ३४ बजे