बिर्तामोड-जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लङ्घन गरेको अभियोगमा ५४ हजार भन्दाबढी चालकलाई चालु आर्थिक वर्षको ११ महिनामा कारबाही गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय तथा मातहतका प्रहरी युनिटले मुख्य तथा सहायक राजमार्गका स्थानमा गरेको छड्के तथा नियमित चेकजाँचका क्रममा ती चालक कारबाहीमा परेका हुन् ।
गल्तीको प्रकृति अनुसार सवारी चालकलाई कारबाही स्वरूप जरिवाना गरिएको झापा ट्राफिकका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताउनु भयो ।
चालकलाई कारबाही गर्दा प्रहरीले ३ करोड ८० लाख भन्दाबढी रुपैयाँ राजस्व संकलन गरेको छ । प्रहरीका अनुसार सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबै भन्दाबढी दुई पांग्रे सवारी साधन छन् ।
११ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ हजार ४० जना पनि कारबाहीमा परेका छन् । प्रहरीले ६२ हजार ५३७ जना चालकको मापसे चेक जाँच गरेको थियो ।
ट्राफिक प्रमुख प्रहरी निरीक्षक पौडेलका अनुसार लागूपदार्थ सेवन गरेर सवारी चलाउने चालकको सङ्ख्यासमेत उल्लेख्य देखिएको छ ।
११ महिनामा १२२ जना चालकले लागूपदार्थ सेवन गरे नगरेको चेकजाँच गर्दा ४१ जना कारबाहीमा परेको प्रहरीको तथ्याङ्क छ ।














