२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ



बिर्तामोड– झापाको अर्जुनधारामा श्रीमान् अर्कै युवतीको कोठामा गएको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा एक युवतीको ज्यान गएको छ ।

श्रीमतीले आफ्ना साथीहरूसँग मिलेर गरेको सामूहिक कुटपिटबाट २२ वर्षीया गंगा राईको मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा श्रीमान्-श्रीमतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. ८ मा डेरा गरी बस्ने रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना श्रीमान् सोही ठाउँमा डेरा गरी बस्ने गंगा राईको कोठामा गएको थाहा पाएपछि यो घटना भएको हो ।

रिसको आवेगमा सुस्मिताले आफ्ना साथीहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई लिएर गंगाको कोठामा पुगेकी थिइन् ।

मंगलबारराति करिब ११:३० बजे उनीहरूले गंगामाथि सामूहिक आक्रमण गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई तत्कालै स्थानीय शंकर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

तर, उपचारकै क्रममा बुधबार बिहान १:२० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । प्रहरीले कुटपिट भएको र महिलाले घटनापछि आत्महत्या प्रयास गरेको हुन सक्ने देखिएको जनाउँदै पोस्टमार्टम रिपोर्टपछि मात्रै थप खुल्ने जनाएको छ ।

प्रहरीले सुस्मिता, उनका श्रीमान् रमेश भुसाल र कुटपिटमा संलग्न अन्य चार महिलालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । मृतक राईको शव हाल बिर्तासिटी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ००:००  ९ : १८ बजे