कनकाई-एलपी ग्यासको आयात प्रतिस्थापन गर्दै विद्युत्को खपतलाई प्रवर्द्धन गर्ने उद्देश्यले कनकाई नगरपालिका वडा नम्बर १ ले आफ्ना ८६ वडावासीलाई अनुदानमा विद्युतीय चुलो वितरण गरेको छ।
नगरपालिका परिसरमा आयोजित एक कार्यक्रममा नगर उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि आशा शर्मा शिवाकोटीले लाभग्राहीहरूलाई चुलो हस्तान्तरण गर्नुभयो। उहाँले यो कार्यक्रमलाई सरकारको ऊर्जा खपत नीतिसँग जोड्दै यसले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
उपप्रमुख शिवाकोटी र वडाध्यक्ष सुशीलकुमार पोखरेल दुवैले हाललाई प्राथमिकताका आधारमा वितरण गरिएको र भविष्यमा थप चुलोहरू ल्याएर अन्य वडावासीलाई पनि समेटिने प्रतिबद्धता जनाउनुभयो।
वडाध्यक्ष पोखरेलले वडाबाट अन्य सुविधा नपाएकाहरूलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले निकट भविष्यमा ‘सुधारिएको चुलो’ समेत वितरण गर्ने योजना रहेको थप जानकारी दिनुभयो।
लागत र अनुदानको व्यवस्था:
वडा सदस्य निर्मला खड्काका अनुसार, प्रति चुलो कुल लागत ३,८७० रुपैयाँ रहेकोमा नगरपालिकाले ७३९ रुपैयाँ अनुदान दिएको छ भने लाभग्राहीले ८८८ रुपैयाँ मात्र व्यहोर्नुपरेको छ। यो कार्यक्रमले स्थानीय स्तरमा सफा ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।














