काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सवको अवसरमा देश र जनताको हितका लागि प्रार्थना गर्नुपर्ने समय आएको बताउनु भएको छ। सोमबार निर्मल निवासमा शुभचिन्तक तथा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले वर्षायामका प्राकृतिक विपत्तिप्रति सचेत रहन आम नेपालीलाई आग्रह गर्नुभयो ।
उहाँले हाल वर्षायाम चलिरहेकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। साथै, पानीजन्य रोगबाट बच्न र समग्रमा सतर्कता अपनाएर सुरक्षित रहन सबै दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभयो।
नेपाली हुनुको अर्थमाथि जोड दिँदै उहाँले भन्नुभयो, “नेपालमा जन्मिएर मात्र कोही नेपाली हुँदैन, साँचो अर्थमा नेपाली हुनका लागि नेपाल हाम्रो मनभित्र हुनुपर्छ। तब मात्र देशप्रतिको माया जाग्छ।”
जन्मोत्सवको अवसरमा पूर्वराजा शाहलाई शुभकामना दिन सोमबार बिहानैदेखि निर्मल निवासमा सर्वसाधारण, राजावादी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको भीड लागेको थियो।














