२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

सामाजिक कार्य र नेतृत्व विकासमा केन्द्रित वीरता लेडी जेसीजको सप्ताह



बिर्तामोड-वीरता लेडी जेसीजद्वारा आयोजित साताव्यापी ‘जेसीज सप्ताह’ नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमसहित आइतबार सम्पन्न भएको छ । सप्ताहले संस्थाको सामाजिक सक्रियतालाई बढावा दिनुका साथै अन्य संघसंस्था सँगको समन्वयलाई थप मजबुत बनाएको छ ।

सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले महिलाहरूको सशक्तिकरण र नेतृत्व विकासमा लेडी जेसीजले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे ।

यसअघि जेसीज सप्ताहको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए । संस्थाकी अध्यक्ष निशा शाक्यका अनुसार, यस वर्षको सप्ताहमा कुल नौ वटा रचनात्मक र सामुदायिक कार्यक्रम आयोजना गरिएका छन् ।

अध्यक्ष शाक्यले भनिन्, ‘यी कार्यक्रमले हामीलाई सामाजिक गतिविधिमा थप सक्रिय हुन प्रेरित गरेको छ । सप्ताह सफल पार्न सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

निवर्तमान अध्यक्ष एवम् जेसीज सप्ताह मूल समारोह समितिकी संयोजक मेनुका ओलीले सप्ताहमार्फत लेडी जेसीजले सामाजिक सेवाको क्षेत्रमा आफ्नो संस्थागत भूमिकालाई अझ फराकिलो र प्रभावकारी बनाएको बताइन् ।

सप्ताहभरि सञ्चालित प्रमुख कार्यक्रमहरू :

  • सामुदायिक सरसफाइ: बिर्तामोडको मुख्य नाला सरसफाइ
  • ट्राफिक सचेतना: सुरक्षाका लागि ट्राफिक सिग्नल स्थापना
  • वातावरण संरक्षण: सार्वजनिक स्थलमा डस्टविन वितरण
  • बौद्धिक विकास: अन्तर-विद्यालय वादविवाद प्रतियोगिता
  • स्वास्थ्य प्रवर्द्धन: म्याराथन दौड

जेसीज सप्ताहले सामाजिक सेवामा संस्थाको उपस्थितिलाई थप बलियो बनाउनुका साथै सदस्यहरूमा नयाँ ऊर्जा र उत्साह थपेको कार्यक्रमका सहभागी वक्ताले बताएका छन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल, वीरता जेसीजका अध्यक्ष युवराज कुँवर, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ८ : ३० बजे