बिर्तामोड-बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनासँगै अपाङ्गता रोकथामलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कोशी प्रदेश सरकार र करूणा फाउण्डेशन नेपालसँगको त्रिपक्षीय साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षामा रोकथामका प्रयासलाई विशेष जोड दिइएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जन्मजात अपाङ्गताको जोखिम कम गर्न गर्भावस्था अघि र पछि फोलिक एसिडको प्रयोगमा जोड दिइएको छ ।
कार्यक्रम प्रगति प्रस्तुत गर्दै महिला बालबालिका शाखाकी अधिकृत पुष्पा कार्कीले गर्भ रहनु पूर्व १०० जना र गर्भ रहेको अवस्थामा २४७ जना महिलालाई फोलिक एसिड चक्की वितरण गरिएको जानकारी दिनुभयो ।
यसले स्वस्थ बच्चा जन्माउन र अपाङ्गताको दर घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै स्वस्थ नागरिक बनाउने अभियानमा नगरपालिकाले लगानी गरिरहेको बताउनु भयो ।
उहाँले फोलिक एसिडको महत्वबारे जनचेतना फैलाउन र यसको सही उपयोगिता सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिनु भयो।
नगरपालिकाले राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा हालसम्म १ हजार ११९ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।
जसमध्ये ३९८ जनाले रातो, ४९७ जनाले निलो, १६० जनाले पहेँलो र ६५ जनाले सेतो परिचय पत्र प्राप्त गरेकाे फाउण्डेशन नेपालकी बिर्तामोड संयोजक अनुष्का केसीले बताउनु भयो ।
कार्यक्रमले नवविवाहित ७९ जोडीलाई सचेतनामूलक शुभकामना कार्ड वितरण गर्नुका साथै १३ जना बालबालिकालाई विद्यालय भर्ना र १६ जनालाई घरमै आधारित शिक्षा प्रदान गरेको छ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्यहरू संगीता सिवा, सीता ढुंगाना, लक्ष्मी खतिवडा, निर्मला ल्वागुन लगायतको उपस्थिति थियो ।














