बिर्तामोड-बिर्तामोड नगरपालिकाले २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए प्राप्त गरेका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत नाै जना विद्यार्थीलाई दोसल्ला ओढाएर जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित विद्यार्थीमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुइटेल र अश्विन लुइटेल, वडा नं. ३ को महेन्द्ररत्न माध्यमिक विद्यालयकी विद्या दाहाल रहेका छन् ।
वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदयप्रसाद सिवाकोटी तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कूलका सौरभ अग्रवाल र सरोज निरौलालाई पनि सम्मान गरिएको हो ।
विद्यार्थीसँगै अभिभावक र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई पनि नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले शिक्षकको मेहनत र अभिभावकको सहयोगका कारण विद्यालय क्रमशः उत्कृष्ट बन्दै गइरहेको बताउनु भयो ।
उहाँले सामुदायिक होस् वा संस्थागत भेदभाव नगरी विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । यस्तै, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउनु भयो ।
सम्मानित विद्यार्थीको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गर्नुभएको थियो भने लासाङ तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो ।














