२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

बुद्धशान्ति अस्पतालमा साउन १ देखि २४ घण्टे सेवा सुरु गर्ने तयारी



बुद्धशान्ति -बुद्धशान्ति गाउँपालिकामा अवस्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालले आगामी श्रावण १ गतेदेखि २४ घण्टे आकस्मिक तथा अन्य स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।

सेवा विस्तारको तयारीलाई अन्तिम रूप दिन गाउँपालिका, अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासन निरन्तर सक्रिय रहेका छन्।

यसै सन्दर्भमा, २४ घण्टे सेवा सुचारु भएपश्चात् सेवा प्रवाहलाई कसरी व्यवस्थित, चुस्त र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सेवा सञ्चालनका क्रममा आउनसक्ने चुनौती, हालका समस्या र समाधानका उपायहरूमाथि गहन छलफल गरिएको छ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, अस्पताल प्रशासनका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रसाईले अस्पतालको सेवालाई थप प्रभावकारी र जनमुखी बनाउन स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताउनु भयो।

‘जनताको आवश्यकताअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा गाउँपालिका सधैं गम्भीर छ। यसका लागि हामी निरन्तर लागिरहेका छौँ, अध्यक्ष प्रसाईले भन्नुभयो।

अन्तरक्रियामा सहभागी स्वास्थ्यकर्मी तथा कर्मचारीले २४ घण्टे सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र स्रोतसाधन व्यवस्थापनका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

श्रावण १ गतेबाट पूर्णकालीन सेवा सुरु भएपछि स्थानीय बासिन्दाले आकस्मिक स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार ००:००  ८ : ०५ बजे