भोजपुर-भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राईले श्रीमती सासु ससुरा र सालाेको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै गएराति साढे १२ बजे घटना भएको जनाएका छन् । घटनापछि प्रहरीले राईलाई पक्राउ गरेको छ ।
प्रारम्भिक बयानका क्रममा पक्राउ परेका राईले ससुराली तिरका सदस्यहरूले आफूमाथि आक्रमण गरेपछि प्रतिकार गर्दा घटना भएको जनाएका छन् ।
राई पनि घाइते अवस्थामा छन् । पेटको भागमा धारिलो हतियारको चोट छ । जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
विवाद बढ्दै गएपछि राईले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपन गिरीको हत्या गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














