बिर्तामोड-अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् ।
सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् ।उनले खेलको ४० औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६ औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् ।
पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् । यसैगरी, मेनुकाले खेलको ११, ३५ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।
कुसुम खतिवडा, मञ्जली कुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २२ गोल दर्ता भएको छ ।अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९ औँ, मञ्जलीले ३४ र ३६ औँ तथा मन्जिलाले खेलको ४२ र ५२ औँ मिनेटमा गोल गरेकी हुन् । यस्तै, रेनु लिम्बूले खेलकाे ४५ औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो ।
अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । बुधबार कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।