१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पाथिभरामा केवलकार विवाद : अर्को वार्ता समिति नबनाउने गृहमन्त्रीको प्रष्टोक्ति



काठमाडौँ– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणका विषयमा विवाद भएपछि वार्ता गर्न गठित सरकारी टोलीसँग निरन्तर वार्ता र संवादमा रहन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

केवलकार विरोधी मुक्कुमलुङ सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटमा गृहमन्त्री लेखकले सरकारका तर्फबाट अर्को वार्ता टोली नबन्ने स्पष्ट पार्नुभएको हो । आन्दोलनरत पक्षले राजनीतिक तहको वार्ता समिति बनाउन आग्रह गरेको थियो ।

सोमबार साँझ गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकार सम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु उपयुक्त हुने बताउनुभयो ।

गृहमन्त्रीलाई भेट्न आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङ्काजी शेर्पा लगायतका आन्दोलन र प्रतिनिधि गृह मन्त्रालय पुग्नुभएको थियो ।

यसअघि केवलकार विरुद्धको आन्दोलन चर्किएपछि गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराई तथा उर्मिला थेबेले आन्दोलनरत पक्षका प्रतिनिधिलाई गृहमन्त्रीसँग संवादका लागि सहजीकरण गर्नुभएको हो ।

गृहमन्त्रीसँगको छलफल सकारात्मक मार्चमा टुङ्गिएको गृहप्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  ९ : ०३ बजे