१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

३० हजार धरौटी बुझाउन नसक्दा ८ महिनादेखि जेलमा



रौतहट-अदालतले तोकेको ३० हजार धरौटी बुझाउन नसक्दा रौतहटका एक युवक आठ महिनादेखि कारागारमा छन् ।

रौतहटको मौलापुर नगरपालिका १ मर्यादापुर घर भएका ३५ वर्षीय सन्तोष पाण्डेलाई अदालतले चोरी अभियोगमा ३० हजार धरौटी तोकेको थियो ।

तर, अदालत मागेको धरौटी बुझाउन नसकेपछि पाण्डे ८ महिनादेखि गौर कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

छिमेकी हवल्दार साह सोनारको मोबाइल र १० हजार नगद चोरी गरेको आरोपमा गत जेठ २९ गते पाण्डेलाई पक्राउ गरिएको थियो ।

असार २० मा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेश गरिएका उनलाई धरौटीबापत ३० हजार माग गरिएको थियो । धरौटी बुझाउन नसकेपछि पाण्डेलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताउनुभयो ।

सन्तोषका तीन छोरा र एक छोरी छन् । छोरो जेल परेपछि आमा बगुनी गाउँ छोडेर चन्द्रनिगाहपुरस्थित आफन्तकाे घरमा शरण लिएर बसेकी छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  ८ : २० बजे