बीरगञ्ज-नेपाल आयल निगमले पाइपलाइनबाट आयात गरिएको पेट्रोल वितरण गर्न सुरु गरेको छ । रक्सौल अमलेगञ्ज पेट्रोलियम पाइपलाइनबाट ल्याइएको पेट्रोल निगमले सोमबारदेखि वितरण सुरु गरेको हो ।
निगमको अमलेखगञ्जस्थित प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पाइपलाइनबाट आयात गरिएको पेट्रोल पोखरा र विराटनगर पठाइएको छ ।
पोखराका लागि सात ट्याङ्कर र विराटनगरका लागि १० ट्यांकर पेट्रोल पठाइएको आचार्यले जानकारी दिनुभयो । निगमले ती दुई स्थानमा करिब ३ लाख ४० हजार लिटर पेट्रोल वितरण गरेको हो ।
निगमका अनुसार पाइपलाइनबाट एक घण्टामा तीन सय किलोलिटर पेट्रोल आयात गर्न सकिन्छ । दैनिक आयात गर्दा भण्डारण गर्न समस्या हुने भएकाले मौज्दात कम भएपछि आयात गरिने आचार्यले बताउनुभयो ।