सतासीधाम-स्थानीय चारजना विद्यार्थीले इभि मोटरसाइकल निर्माण गरेका छन् । निर्माण गरिएको मोटरसाइकल राष्ट्रिय रमणीय आदर्श माविको ५५ औँ वार्षिक उत्सव पारेर सार्वजनिक गरिएको छ ।
राष्ट्रिय रमणीय आदर्श माविका तीनजना र क्याम्ब्रिज अङ्ग्रेजी माविका एकजना विद्यार्थी मिलेर इभि मोटरसाइकल निर्माण गरेका हुन् । राष्ट्रिय रमणीयका प्रसन्न दवाडी, सन्देश बराल, निशान शंकर र क्याम्ब्रिजका उज्ज्वल घिमिरेको पहलमा मोटरसाइकल निर्माण भएको हो ।
चारैजना विद्यार्थीलाई दूधे माविका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो जन्मदिनको अवसर पारेर नगद पुरस्कार प्रदान गर्नुभएको छ । विद्यार्थीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिएको छ ।
विद्यार्थी प्रसन्न दवाडीका अनुसार मोटरसाइकल प्रतिघण्टा ४७ किलोमिटरको स्पीड सम्म कुदाउन मिल्छ । मोटरसाइकल बनाउन शिवसताक्षी नगरपालिकाले प्रोत्साहन स्वरूप १७ हजार प्रदान गरेको विद्यार्थी सन्देश बरालले बताउनुभयो ।
चारजना विद्यार्थीले गतवर्ष चारपाङ्ग्रे गाडी समेत निर्माण गरेका थिए । त्यही गाडीको पुराना सामानको सहयोगमा मोटरसाइकल निर्माण गरिएको हो ।