बिर्तामोड– पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्न असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो ।
‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसदमा बोलेरै गर्नु भएको छ’ नेता खरेलले भन्नुभयो, ‘ उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिबाट बताइरहनु भएको छ ।’
पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशील रहेको जिकिर गर्नु भयाे । उहाँले सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको बताउनुभयो ।
‘सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ’, उहाँले भन्नुभयो, ‘संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ ।’
संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उहाँको धारणा थियो । नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विधेयक आवश्यक भएको बताउनुभयो ।
रास्वपा सभापति रवि लामिछाने माथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उहाँले सभामुखको निर्णय ठीक भएको प्रतिक्रिया दिनुभएको छ ।
‘सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुन्छ।’