बिर्तामोड-दीर्घकालीन दुखाईबाट पीडित भएका बिरामीले बिर्तामोडमा उपचार सेवा प्राप्त गर्ने भएका छन् । बिर्तामोडमा स्थापित एडभान्स पेन स्पेसलिस्ट क्लिनिकले दीर्घ दुखाईको समस्या भएका बिरामीलाई सेवा प्रदान गर्न लागेको हो ।
बिना अपरेसन आधुनिक प्रविधिबाट दुखाई कम गर्ने गरी क्लिनिकको स्थापना गरिएको डाक्टर पुष्पक रेग्मीले बताउनुभयो । बिर्तामोडको प्रियंकाज क्लिनिकसँगै याे क्लिनिक खुलेको हाे ।
समयमा दीर्घकालीन दुखाईको उपचार नगर्दा त्यसले रोगको रूप लिने भएकाले बिरामीको सहजताका लागि क्लिनिक स्थापना गरिएको डाक्टर निरु नेपालले बताउनुभयो ।
दुखाईलाई रोगको रूपमा लिनुपर्ने परिस्थितिको अन्त्यका लागि हस्पिटल सेटअप बाहिर पूर्वी नेपालमा पहिलोपटक यस्तो सेवा उपलब्ध गराउन लागिएको हाे ।
डाक्टर मुस्कान श्रेष्ठका अनुसार क्लिनिकमा एमबीबीएस एमडी गरेपछि छुट्टै पेन मेडिसिनमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरूबाट विशेष उपचार प्राप्त हुनेछ ।
क्लिनिकमा दीर्घकालीन दुखाइको निदानका लागि आवश्यक अत्याधुनिक उपकरणहरूको समेत व्यवस्था रहेको डा. रेग्मीले बताउनुभयो । अल्ट्रासाउन्ड गरिनुका साथै दुखाई व्यवस्थापनमा महत्त्वपूर्ण हुने फिजियोथेरापी सेवा पनि क्लिनिकले उपलब्ध गराउनेछ ।
दीर्घकालीन दुखाईको समस्याबाट पीडित भएका बिरामीसँग एक महिनासम्म क्लिनिकले पैसा पनि नलिने डाक्टर नेपालले बताउनुभयो ।