बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा र पाँचथरका तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाको १४ औँ स्थापना दिवसको अवसर पारेर बिहिबार सहकारी संस्थाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार बुट्टाबारीको सरस्वती माध्यमिक विद्यालयका १६२ जना विद्यार्थीलाई ब्याग वितरण गरिएको छ ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच त्यहाँका विद्यार्थीलाई ब्याग वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले सरकार सबै ठाउँमा पुग्न नसकेका बेला सिम्रिक लगायतका सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सबै सहकारी संस्थालाई एउटै दृष्टिकोणले हेर्न नहुने बताउँदै नगर प्रमुख प्रसाईले सहकारी विरुद्ध गलत अफवाह नफैलाउन सरोकारवालालाई आग्रह गर्नुभयो ।
सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत भद्रपुरको महेशपुर आधारभूत विद्यालयका १०० जना विद्यार्थीले पनि ब्याग पाएका छन् । पाँचथरको फिदिमस्थित सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर प्रदान गरिएको छ ।