सतासीधाम-जेष्ठ नागरिकका गुनासो, पीरमर्का र समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकाले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गरेको छ ।
वडागत रूपमा जेष्ठ नागरिकसँग छलफल गर्ने, उनीहरूका कुरा सुन्ने र नगरका तर्फबाट सकेसम्म सहयोग गर्ने उद्देश्यले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सुरु भएको हो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले जेष्ठ नागरिकका समस्या सुन्दै उनीहरूका अनुभवबाट केही नयाँ कुरा सिक्ने उद्देश्यले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रम अन्तर्गत मंगलबार चारवटा वडाका जेष्ठ नागरिकसँग नगर प्रमुख थोप्राले छलफल गर्नुभएको छ । ४,५,६ र ७ का जेष्ठ नागरिकसँग नगरपालिकाका तर्फबाट अन्तरसंवाद गरिएको हो ।
कार्यक्रममा जेष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनमा भाडा छुट दिने व्यवस्था मिलाउन, औषधि उपचारका लागि स्वास्थ्य संस्थामा लाइन बस्नुपर्ने व्यवस्था हटाउन र बैंक तथा वित्तीय संस्थामा घण्टौं कुर्नुपर्ने परिस्थिति अन्त्य गर्न माग गरेका छन् ।
सरकारले दिएको बीमा सुविधाबाट औषधि उपचार गर्न जाँदा अस्पतालहरूले गैर जिम्मेवार व्यवहार देखाएको, चिकित्सकले लेखिदिएको औषधि नगरका स्वास्थ्य संस्थाले नदिएको लगायतका विषयमा पनि जेष्ठ नागरिकले गुनासो राखेका छन् ।
ज्येष्ठ नागरिकका लागि चौतारो र भवन बनाइदिएकोमा उनीहरूले नगर प्रमुखलाई धन्यवाद दिएका छन् । तर, चौतारो भएको स्थानमा शौचालय नबनाइदिएकोमा जेष्ठ नागरिकको गुनासो छ ।
जेष्ठ नागरिकको कुरा सुनेपछि नगर प्रमुख थोप्राले आफ्नै बुवाआमाले छोरासँग जीवनको उत्तरार्धमा गरेका हक अधिकार र आवश्यकताका बारेमा कुरा राखेको आफूलाई अनुभूति भएको बताउनुभयो ।
वडा नं ६ का अध्यक्ष मनोज खुलाल कार्कीले जेष्ठ नागरिकका लागि वडाको बजेटबाट शिवसताक्षी ६ मा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा आठजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा करिब २०० जेष्ठ नागरिक उपस्थित थिए । कार्यक्रमको संयोजन जेष्ठ नागरिक नगर समितिले गरेको हो ।















