झापा- बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार कोषका लागि ५१ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसका अवसरमा मगलवार झापाको दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख नगर प्रमुख प्रसाईले उक्त रकम प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
आफ्ना श्रीमान स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने नगर प्रमुख प्रसाईले बताउनु भयो । चौतारीले २०६९ सालमा पत्रकार उपचार कोष स्थापना गरेको थियो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले पनि पत्रकार उपचार कोषलाई ११ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको छ । अनेमसंघ झापाकी कोषाध्यक्ष कोपिला चम्लागाईले पनि ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य भीमा शिवाकोटीले आफ्नो तर्फबाट कोषलाई २५ हजार रुपैयाँ सहयोग गर्नु भयो । अहिले शिवाकोटीको संयोजकत्वमा प्रेस चौतारीको पत्रकार उपचार कोष सञ्चालनमा छ ।
आगामी तीन वर्षभित्र कोषमा बृद्धि गरी १५ लाख रूपैयाँ बनाउने लक्ष्य राखिएको संयोजक शिवाकोटीले बताउनु भयो ।