मोरङ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
कोशी प्रदेश सभा स्थापनाको सातौँ वार्षिकाेत्सव कार्यक्रमलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयन भइनसकेको बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले प्रशासनिक, वित्तिय र राजनीतिक संघीयताले अझै पनि पूर्णता नपाएको बताउनुभयो । उहाँले अहिले पनि प्रशासनिक संरचना बनिनसकेको बताउनुभयो ।
‘प्रहरी समायोजन लगायतका काम अझै बाँकी छन्’, कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘दल र दलका नेताले अझै पनि केन्द्रकाे मुख ताक्ने परिस्थिति छ । साना मसिना कुरा पनि निर्णय गर्न सकिरहेका छैनौँ ।’
मुख्यमन्त्री कार्कीले वित्तिय संघीयता कार्यान्वनयमा समेत पाँच वर्षसम्म केही काम हुन नसकेको बताउनु भयाे । मुख्यमन्त्री कार्कीले प्रदेशको छुट्टै राजस्व कार्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले प्रदेश सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।














