झापा-गृह मन्त्रालयद्वारा गठित सरकारी वार्ता टोलीले काम सुरु गरेको छ । ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणको विषयमा विवाद भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो ।
सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल अघि बढाएको हो । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेको बताउनुभयो ।
गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । सरकारी वार्ता टोली गठन भएपछि आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति बनाएको छ ।
आन्दोलनरत पक्षको वार्ता सहजीकरण समितिमा प्राज्ञ अमर तुम्याहाङ संयोजक रहनुभएको छ । शंकर लिम्बू, राम मादेन र सरस्वता सिङगल सदस्य हुनुहुन्छ ।