बिर्तामोड-ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणको विरोधमा उत्रिएको पहिचानवादी शक्ति र समूहले गृहमन्त्रीको राजीनामा मागेको छ ।
केवलकारको विरोधमा स्थानीयले गरेको आन्दोलनमाथि प्रहरीले दमन गरेको जनाउँदै आन्दोलनरत समूहले गृहमन्त्रीको राजीनामा मागेको हो ।
आइतबार झापाको बिर्तामोडमा प्रदर्शन गर्दै आन्दोलनरत समूहले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र फुङ्लिङ नगरपालिकाका मेयरमाथि कारबाही हुनुपर्ने माग राखेको छ ।
एकसाता अघि भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीनजना आन्दोलनकारी घाइते भएका थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ ।
व्यापारिक समूहलाई पोस्ने गरी सरकारले पाथिभरामा केवलकार निर्माणको योजना अघि बढाएको जनाउँदै आन्दोलनरत समूहले गोलीकाण्डको न्यायिक छानबिन गर्न माग गरेको छ ।
कार्यक्रममा बोल्दै पहिचानवादी समूहका नेता सन्जुहाङ पालुङ्गबाले जनजातिको आन्दोलन दबाउन सरकारले दमनको नीति लिएको जनाउँदै पाथिभरामा कुनै पनि हालतमा केवलकार बन्न नदिने बताउनुभयो ।
आदिवासी नेता पाण्डवलाल चौधरीले पहिचान पक्षधर राजनीतिक शक्ति र समूहले कोशी प्रदेश नाम खारेजीको माग राखेर आन्दोलन गरिरहेको जनाउँदै अब पाथिभरामा केवलकार निर्माणको विरोधमा आन्दोलन केन्द्रित गर्ने बताउनुभयो ।