मोरङ-ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय सहित पाँच जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको जोगबनीका २३ वर्षीय केशव यादव, कटहरीका रोहितकुमार पासवान र बुद्धनारायण साह, विराटनगर महानगरपालिका ८ का अमित राय र पथरी शनिश्चरे नगरपालिका ५ का २५ वर्षीय बोधराज राजबंशी रहेका छन् ।
विराटनगर ११ का महेशकुमार चौधरी र उनका छोरा युकेशकुमार चौधरीलाई ठगेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
रोजगारीका लागि क्यानडा पठाइदिने जनाउँदै उनीहरूले चौधरी बाबुछोराबाट ६६ लाख ६७ हजार ठगी गरेको मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो ।
चौधरी बाबुछोराबाट रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार उनीहरूले अरु सर्वसाधारणलाई पनि ठगी गरेका छन् ।