सतासीधाम-स्थानीय चारवटा सामुदायिक विद्यालयलाई ल्यापटप र कम्प्युटर प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले सरकारी विद्यालयलाई ती सामग्री प्रदान गरेको हो ।
वडाध्यक्ष सन्त फेउदिनले वडामा रहेका चारवटा सामुदायिक विद्यालयलाई सहयोग स्वरूप ल्यापटप, कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताउनुभयो ।
वडा कार्यालयमा मंगलबार आयोजित संक्षिप्त समारोहका बीच नगरप्रमुख मेगाहाङ थोप्राले सम्बन्धित विद्यालयलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अरुणोदय, सरस्वती र भगवती आधारभूत विद्यालय तथा झिलझिले माध्यमिक विद्यालयले एक-एक थान ल्यापटप र प्रिन्टर प्राप्त गरेका छन् ।
विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुरूप वडाले ती सामग्री प्रदान गरेको वडाध्यक्ष फेउदिनले बताउनुभयो ।
चारवटा विद्यालयलाई ३ लाख ५० हजार बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको हो । अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले शैक्षिक सुधारका लागि वडाको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।