१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

झापामा सुरु भयो एन प्याब्सनको जिल्लास्तरीय खेलकुद



बिर्तामोड-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सन झापाको जिल्लास्तरीय खेलकुद कार्यक्रम सुरु भएको छ ।

एन प्याप्सनले ६ दिवसीय खेलकुद प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सोमबार जिल्ला शिक्षा समन्वय समितिका प्रमुख देवेन्द्र मल्लले उद्घाटन गर्नुभयो ।

उद्घाटनको पहिलो दिन झापाको कन्काई नगरपालिकास्थित जामुनखाडीको खेल मैदानमा फुटबल प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मल्लले शिक्षाको अभिन्न अङ्गको रूपमा रहेको अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष महत्त्व दिनुपर्नेमा जोड दिनुभयो ।

माघ १४ गतेदेखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । कार्यक्रममा एन प्याप्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त शारीरिक र मानसिक ज्ञान दिन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा जामुनबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एन प्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओम विक्रम नेम्वाङका अनुसार खेलकुद तथा सांस्कृतिक कार्यक्रममा जिल्लाका ५२ वटा विद्यालयले सहभागिता जनाउने छन् ।

फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएका छन् । प्रतियोगिता अन्तर्गत भलिबल टेनिस ब्याडमिन्टन लगायतका खेलकुद राखिएका छन् ।

खेलकुद बाहेक सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । माघ १९ गते दमकको झापा मोडल स्कुलमा प्रतियोगिताको समापन हुने अध्यक्ष नेम्वाङले बताउनुभयो ।

उद्घाटन अन्तर्गत भएको फुटबल प्रतियोगितामा इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कन्काई प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसमा इस्ट होराइजन विजयी भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार ००:००  ८ : ५८ बजे