१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बालुवाटारमा शीर्ष नेताहरूको बैठक : सरकारलाई थप प्रभावकारी बनाउने सहमति



काठमाडौँ– सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा सरकार कामलाई अझ प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्ने सहमति भएको छ । संसदकाे काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ ।

 बैठक पछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिने सहमति भएको बताउनु भयाे । सरकारका कामप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतकाे सहभागिता रहेको थियो ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

उहाँले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरुको प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ९ : १० बजे