पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेश चित्त नबुझेको जनाउँदै उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनुभएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको जनाउँदै सभापति लामिछानेले उच्च अदालतमा अपिल गर्नुभएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता भएको बताउनुभयो ।
पूर्व गृहमन्त्री समेत रहनुभएका लामिछाने जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न दिएको आदेशमा चित्त नबुझेपछि साधारण तारिखमा छोड्न माग गर्दै उच्च अदालत पुग्नु भएको हो ।
पोखरामा धरौटी माग भएसँगै काठमाडौँ, चितवन र बुटवलमा समेत धरौटी माग भएको छ । एकपछि अर्को अदालतले धरौटी माग्न थालेपछि सभापति लामिछानेले उच्च अदालत पोखरामा निवेदन दायर गर्नु भएको हो ।