तेह्रथुम-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम आउनुभएको छ । पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमार्फत तेह्रथुम आउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड सोमबार र मङ्गलबार तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनु हुनेछ । प्रचण्डले लालीगुराँस नगरपालिका ७ लसुनस्थित सहित धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रचण्ड प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई समेत जानुहुनेछ । त्यहाँ जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
अध्यक्ष प्रचण्डले माओवादी नेता भक्तराज कन्दङबाका परिवारसँग भेटघाट गर्नुका साथै उनको सालिक अनावरण गर्ने कार्यक्रम समेत राखिएको माओवादी केन्द्र तेह्रथुमका नेता रघु गौतमले जानकारी दिनुभयो ।
पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको रुपमा प्रचण्डले नियुक्तिपत्र लिनुभएको थियो ।