शिवसताक्षी– शिवसताक्षी नगरपालिकाको अनुगमन टोलीले शिवगञ्ज बजारबाट आइतबार फर्मालिनयुक्त माछा जफत गरी नष्ट गरेको छ ।
बजारमा बिक्रीका लागि राखिएको विषादीयुक्त माछा जफत गरिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।
तीनवटा पसलबाट ४४ किलो फर्मालिनयुक्त माछा जफत गरिएको छ । जफत गरिएको माछा नगरपालिका कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।
फर्मालिन प्रयोग गरी भारतबाट आयात गरिएका माछा बिक्रीमा प्रतिबन्ध लगाइए पनि व्यवसायीले लुकीचोरी बेच्दै आएका छन् ।
जनस्तरबाट विषादीयुक्त माछा बजारमा बिक्री भइरहेको गुनासोपछि नगरपालिकाले आइतबार अनुगमन टोली परिचालन गरेको थियो ।
फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर रोग लाग्ने भएकाले बिक्रीमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले बताउनुभयो ।
नगरपालिकाले माघ १० गते सूचना जारी गर्दै फर्मालिन लगायतका रसायन प्रयोग गरिएको माछा बेचबिखनमा रोक लगाइएको जनाएको थियो ।