झापा-राष्ट्रिय मानवअधिकार आयोगले ताप्लेजुङको पाथिभरामा केवलकार बनाउने विषयमा भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई अनुरोध गर्दै वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको हो ।
असहमति र विवादको समयमा पहिचान गरी विकासमा मानवअधिकारमुखी पद्धति अवलम्बन गर्न जरुरी देखिएको डाक्टर पोखरेलले बताउनुभयो ।
पाथिभरामा केवलकार बनाउने विषयमा विवाद हुँदा शनिबार साँझ प्रहरीले गोली चलाएको थियो । विवादका क्रममा सुरक्षाकर्मी र स्थानीय प्रदर्शनकारीबीच झडप हुँदा दुवैतर्फ घाइते भएका थिए ।
आयोगले झडपका क्रममा घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
यसअघि आयोगले मङ्सिर २ देखि ८ गतेसम्म स्थलगत अनुगमन गरी वार्ता र सहमतिपछि मात्र केवलकार निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको थियो ।















