काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीले ठोस परिणाम दिने मामिलामा वर्तमान सरकार पूर्णत असफल भएको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्य समितिको बैठकपछि राप्रपाले यस्तो निष्कर्ष निकालेको हो ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने जनाउँदै नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरेका थिए । अहिले नेकपा एमालेको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।
आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार पूर्णत असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
राप्रपाले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुईदलीय व्यवस्थातर्फ लैजाने सत्तापक्षीय नेताहरूको प्रयास गम्भीर र आपत्तिजनक रहेको टिप्पणी गरेको छ ।
अनायस संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रुपमा रहेको जनाउँदै राप्रपाले विकास निर्माणलाई तीव्रता दिने काममा समेत सरकार असफल भएको जनाएको छ ।