झापा-चिया आयातमा अक्सन विधि अपनाउने भारतीय नीति लागू गर्ने तयारी भइरहँदा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रभावित हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
भारतको केन्द्र सरकारले आयात हुने चियामा अक्सन विधि लागू गर्ने तयारी गरिरहेको छ । त्यसको प्रत्यक्ष असर नेपाली चियाको निर्यातमा पर्ने देखिएको हो ।
भारतीय नीति लागू भए नेपालमा उत्पादित अर्थोडक्स र सिटीसी चिया निर्यातका लागि अक्सन विधि अपनाउन जरुरी हुन्छ ।
राष्ट्रिय चिया तथा कपी विकास बोर्ड क्षेत्र कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारी भारतले अक्सन विधि लागू गरे नेपाली चिया क्षेत्र प्रभावित हुने बताउँछन् ।
प्रादेशिक चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीले नेपाली चियाको बजार प्रभावित हुने गरी भारतीय पक्षले अक्सनमा जोड दिइरहेको बताए ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष समेत रहेका पराजुलीले नेपाली चियाको निकासी रोक्न भारतले अन्तिम अस्त्रका रूपमा अक्सन विधि झिक्न लागेको टिप्पणी गरे ।
केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङ नेपालमा अक्सनका लागि पूर्वाधार समेत भनिसकेको अवस्थामा त्यसलाई लागू गर्न नसक्दा भारतले फाइदा लिन लागेको बताउँछन् ।