झापा- बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति बढ्दै गएको छ । देशभित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि जानेको भीड बढेको हो ।
महोत्सवस्थलमा ग्राहकको उपस्थिति बढेपछि व्यवसायीहरु उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगारमूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ ।
शनिवार विदाको सदुपयोग गर्दै वालवालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल पुगेका छन् । मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यसअघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए ।
धनकुटा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वा सहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ । मौसममा आएको सुधारसँगै ग्राहकको उपस्थिति बढेपछि खरिद बिक्री बढेको व्यवसायी थीरमाया राउतले बताइन् ।
महोत्सवस्थलको किड्स जोनमा पनि वालवालिकाहरु खेल सामग्री प्रयोग गर्दै रमाइरहेका देखिन्छन् । महोत्सवलाई थप आकर्षण दिन यसपटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ ।
मुख्य मञ्च अगाडि झापाको प्रसिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रुपमा ती डिजाइनले साथ दिएका छन् ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर बिभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरु नियमित रहेका छन् । शनिवार राई जातिका कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
जातिय भेषभूषामा सजिएर आएका उनीहरुले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफलसहित प्रस्तुति गरेका थिए ।प्रत्येक साँझ कलाकारहरुले वेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । साँझ संगीतमा रमाउनेको पनि उल्लेख्य उपस्थिति रहँदै आएको छ ।