२ असार २०८२, सोमबार | Tue Jun 17 2025

बिर्तामोडमा बन्यो अढाई करोड लागतमा गायत्री माताको मन्दिर



बिर्तामोड-झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । दानवीरको सहयोगमा बिर्तामोड-५ मा गायत्री माताको मन्दिर निर्माण भएको हो ।

निर्माण समितिका संयोजक राेनक वंशलले अढाई करोड रूपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको बताउनुभयो । २०८० जेठ १७ गतेदेखि मन्दिरको निर्माण कार्य प्रारम्भ भएको थियो ।

मन्दिर निर्माणका लागि कोशी प्रदेश सरकारले ४० लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराएको संयोजक वंशलले बताउनुभयो ।

पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको छ । माघ २१ गते विधिपूर्वक पूजा अर्चना गरी प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको बाहुलीबाट मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको वंशलले बताउनुभयो ।

माघ १७ गते कलश एवम् निशान यात्रामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले विशेष प्रवचन दिनुहुनेछ । पाँच दिनसम्म मन्दिर परिसरमा दैनिक भजन किर्तन राखिएको छ ।

भारतका चर्चित भजन गायक तथा कलाकारहरूको उत्कृष्ट प्रस्तुतिका बीच कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरजसिंह राजपुत, नेहासिंह राजपुत सहभागी हुनु हुनेछ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार ००:००  ९ : ४४ बजे