बिर्तामोड-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अग्रसरतामा ४०० किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा मङ्गलबार बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले २ अर्ब ४५ करोड रुपैयाँको लगानी साझेदारीमा पदमार्ग निर्माण भइरहेको बताउनुभएको हो ।
पूर्वी पहाडी जिल्लाका उत्पादनको व्यावसायिक प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पर्यटकीय पदमार्ग निर्माणमा समेत उत्तिकै भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि, पर्यटन र व्यापारको ठूलो सम्भावना रहेको जनाउँदै २०८२ साललाई कोशी पर्यटन वर्षका रुपमा मनाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।