बिर्तामोड-कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना विरुद्ध मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका दुई कर्मचारीविरुद्ध कारबाही अघि बढाएको हो ।
प्राधिकरणका कर्मचारीद्वय भक्तबहादुर कटुवाल र पृथ्वी श्रेष्ठमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्टले बताउनुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति समेत रहनुभएका थापामाथि शनिबार साँझ सुरुङ्गामा आक्रमण भएको थियो । थापा नेपाल प्रेस युनियनले दोमुखामा आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कँदै हुनुहुन्थ्यो ।