झापा- नेपाली कांग्रेसले पार्टीका कोसी प्रदेश सभापति उद्धव थापामाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको छानविनको माग गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार प्रेस विज्ञप्ति जारी गरी थापामाथि भएको आक्रमणको निन्दा गर्नु भएको हो ।
कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
झापाको दोमुखामा आयोजित प्रेस युनियनको कार्यक्रमबाट फर्किदै गर्दा शनिवार साँझ करिव सात बजे सभापति थापामाथि आक्रमण भएको थियो । पूर्व मुख्यमन्त्री समेत रहेका थापामाथि आक्रमण गरेको आरोपमा प्रहरीले विद्युत प्राधिकरणका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।