बिर्तामोड-कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले संस्कार र संस्कृतिको संरक्षण हुन नसके जातिय अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आठौँ राष्ट्रिय भक्का दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
मन्त्री कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै आवश्यकताका आधारमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

सरकारले सबै जातजाति र भाषाभाषीको अस्तित्वलाई स्वीकार गरेर समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको प्रष्ट पार्दै मन्त्री कार्कीले सार्वजनिक बिदालाई मात्रै महत्व दिन नहुने बताउनुभयो ।
‘जातीय बसोबासको बाहुल्यताका आधारमा स्थानीय तहले बिदा दिन सक्छन्’, मन्त्री कार्कीले भन्नुभयो, ‘सबै स्थानीय तहले बिदा दिएनन् भनेर दुःख मनाउ गर्नु पनि हुँदैन ।’
मन्त्री कार्कीले राजवंशी जातिको जातिय संस्कारका रूपमा रहेको भक्का साझा खाजाका रूपमा विकसित भइसकेको जनाउँदै यसलाई व्यवसायिक बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने गरी लाग्नुपर्ने बताउनुभयाे ।
मन्त्र कार्कीले राजवंशी जातिबीच आपसमा भएको मतभेद, तिक्तता र विभाजनलाई रोक्ने गरी मिलेर काम गर्न सरोकारवालालाई आग्रह पनि गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र संग्रौलाले जातिय संस्कृति र संरक्षणका लागि नयाँ पुस्तालाई समेत सचेत बनाउँदै लैजानुपर्ने बताउनुभयो। ।
राजवंशी समाज विकास समितिले डोमालाल राजबंशी रङ्गशालामा विशेष कार्यक्रम आयोजना गरी आठौं राष्ट्रिय भक्का दिवस मनाएको समाजका अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।