१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

कृषि अनुदान दुरुपयोगको आशंका : विभागीय मन्त्रीले नै उठाए प्रश्न



काठमाडौँ-सरकारले हरेक वर्ष वितरण गर्दै आएको कृषि अनुदानको उपयोगिताका विषयमा विभागीय मन्त्रीले नै प्रश्न उठाएका छन् । कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त भएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको हुनसक्ने बताउँदै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताउनुभयो ।

मन्त्रालयले आइतबार आर्थिक वर्ष ७६-७७ देखि ८१ सम्म कृषि अनुदानमा अर्बौँ रुपैयाँ खर्च भएको जनाएको छ । पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान वितरण भएको छ ।

मन्त्रालयबाट लगिएका र दिइएका अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

सरकारले कृषि सहकारी र समूहमार्फत पछिल्लो पाँच वर्षमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड रुपैयाँ कृषि अनुदान वितरण गरेको छ । प्रत्यक्ष रूपमा रासायनिक मल अन्तर्गत ८७ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ९ : ०० बजे