बिर्तामोड-नेपाल महिला सङ्घ झापाले माघ २० गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।
अध्यक्ष टीका सिटौलाको अध्यक्षतामा बसेको सङ्घको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यकाे समयसीमा माघ २० लाई तोकेको हो ।
केन्द्रीय सदस्य द्वय सुशिला ढकाल र गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, महिला सङ्घ केन्द्रीय सदस्य राधा कार्कीको विशेष आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलामा बोल्दै निवर्तमान अध्यक्ष ढकालले भातृ संस्थाहरू बलियो र सक्रिय भएमात्रै पार्टी बलियो हुने बताउँदै महिला संघलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
सभापति थेबेले क्रियाशील सदस्यता नवीकरण शतप्रतिशत नहुने बताउँदै सम्भव भएसम्म धेरैको नवीकरण गर्न निर्देशन दिनुभयो ।
लामो समयदेखि स्थगित रहेको महिला सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय छ ।
निर्वाचन सम्पन्न गर्नका लागि प्रकाशरण महतको संयोजकत्वमा केन्द्रीय निर्देशन समितिसमेत गठन भइसकेको छ ।