बिर्तामोड-राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सरकारले सहकारीका सम्बन्धमा जारी गरेको अध्यादेश संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
झापा जिल्ला सहकारी सङ्घको २८ औं वार्षिक साधारण सभालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अध्यादेश संशोधनको आवश्यकता औँल्याउनु भएको हो ।
सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी सरकारले अध्यादेश ल्याएको जनाउँदै अध्यक्ष पोखरेलले कार्यक्षेत्रका आधारमा बचतको सीमा तोक्ने अध्यादेशको प्रावधान आपत्तिजनक रहेको बताउनुभयो ।
सञ्चालकको कार्यकालका सन्दर्भमा अध्यादेशले गरेको व्यवस्था पनि उचित नभएको जनाउँदै अध्यक्ष पोखरेलले त्यसमा संशोधन गर्ने गरी सरकारसँग लबिङ भइरहेको बताउनुभयो ।
कर्जा सूचना केन्द्रको व्यवस्था, सहकारी कर्जा सुरक्षण कोषको व्यवस्था लगायतका केही राम्रा प्रावधान अध्यादेशमा समेटिएको अध्यक्ष पोखरेलको तर्क छ ।
कार्यक्रममा सङ्घको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गणेश ढकालले सङ्घको सेयर पूँजी ३ करोड ५९ लाख ५६ हजार १ सय रूपैयाँ रहेको बताउनुभयो । संघमा ४९६ वटा प्रारम्भिक संस्था सदस्य रहेका छन् ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघको नयाँ नेतृत्वका लागि माघ २० गतेदेखि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार फागुन ३ गते निर्वाचन हुनेछ ।