विराटनगर-कोशी प्रदेश सरकारले आगामी बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशाेधन र खरिद प्रकृयामार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो ।
उहाँले कतिपय कानुन र नीति संशाेधनका लागि केन्दीय सरकारको समेत सहयोग चाहिने भएकाले सम्मेलन सार्नु परेको बताउनुभयो । कोशी प्रदेश सरकारले करिब एक खर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ ।
चालु आवको नीति तथा कार्यक्रम र बजेटमार्फत लगानी सम्मेलन गर्ने गरी तयारी गरेर सरकारले काम गरिरहेको छ । लगानी सम्मेलनका लागि विभिन्न समितिहरू र सचिवालय गठन भइसकेको छ ।
अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हद सम्म पूरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताउनुभयो ।