केचना-नेपाली कांग्रेसले कचनकवल सगरमाथा जागरण अभियान सुरु गरेको छ । बुधबारदेखि नेपालको होचो भू-भाग केचनाबाट अभियान सुरु भएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा प्रारम्भ भएको अभियानको पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्तिका प्रतीक परेवा उडाएर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिटौलाले विचार संगठन र कार्यगत एकताको सन्देशका साथ अभियान प्रारम्भ भएको बताउनुभयो ।
जनताको आर्थिक समृद्धि र जीवनस्तर सुधारका लागि नेपाली कांग्रेसको नेतृत्वको विकल्प नहुने बताउँदै पूर्व महामन्त्री सिटौलाले राष्ट्रिय स्वाधीनताको संरक्षणमा समेत ांग्रेस प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले २०८४ को निर्वाचनअघि संविधान संशोधनको विकल्प नरहेको बताउँदै राजनीतिक स्थायित्वका लागि समेत संविधानको संशोधन जरुरी भएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले अख्तियारले खोल्न नसकेका भ्रष्टाचारका मुद्दाका फाइल उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गरिनुपर्नेमा जोड दिनुभयो ।
अभियानको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले संगठन सुदृढीकरण मार्फत पार्टीभित्रको गुट उपगुट अन्त्य गरी समग्र एकता कायम गर्न अभियान सुरु गरिएको बताउनुभयो ।
अध्यक्ष थापाका अनुसार अभियान अन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि अग्रज नेतृत्वले गरेको इतिहासको खोजी गर्ने, त्यसलाई अभिलेखीकरण राख्ने र जनताको आर्थिक समृद्धि र विकासका आधारको अध्ययन गर्ने गरी अभियान सञ्चालन हुनेछ ।
अभियानमा कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरू समेत सहभागी भएका छन् । अभियानअघि नेपाली कांग्रेसले ओमसाई पाथिभरा अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
शिबरमा १२०० भन्दा बढीले स्वास्थ्य जाँच गराएकाे नेपाली कांग्रेस कचनकवल गाउँ समितिका सभापति तुलाराम अधिकारीले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार रेडक्रस सँगको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।