काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सिध्याउने सुनियोजित नीति अन्तर्गत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आलटाल गरिएको बताएका छन् ।
शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यस्तो धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष दाहालले माओवादीलाई तह लगाउन शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो नलगाइएको जिकिर गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सडक आन्दोलन गर्नुको विकल्प नभएको बताए ।
सडक आन्दोलनबाट राजनीतिक नेतृत्वलाई दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुने जनाउँदै माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व नसुध्रिए देश बर्बाद हुने दाबी गरे ।